विराटनगर डिग्री क्याम्पसमा त्रिविको एलएलबी सुरु , ३०० सिटमा कानुन अध्ययनका लागि भर्ना खुला
विराटनगरका विद्यार्थीहरूका लागि कानुन अध्ययनको क्षेत्रमा नयाँ अवसर खुलेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कानुन सङ्कायले शैक्षिक सत्र २०८२/०८३ देखि डिग्री क्याम्पस विराटनगर मा तीन वर्षे एलएलबी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
यसअघि यस क्षेत्रमा कानुन शिक्षा पूर्वाञ्चल विश्वविद्यालय मार्फत मात्र उपलब्ध थियो। अब त्रिविको कार्यक्रम थपिएपछि विद्यार्थीहरूले आफ्नै सहरमा अध्ययनका लागि थप विकल्प पाउने भएका छन्।
कानुन सङ्काय, डीन कार्यालयद्वारा सार्वजनिक सूचनाअनुसार कार्यक्रम विस्तार गरिएको क्याम्पसहरूको सूचीमा विराटनगरको डिग्री क्याम्पसलाई पनि समेटिएको छ। यहाँ एलएलबी तहका लागि ३०० सिट व्यवस्था गरिएको छ, जसले धेरै विद्यार्थीलाई समेट्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालयले देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा गरी कुल ३,८०० सिटमा एलएलबी भर्ना खुला गरेको छ। इच्छुक विद्यार्थीहरूले चैत ३० गतेदेखि आवेदन दिन सक्नेछन्।
यो पहलसँगै विराटनगरमा कानुन शिक्षाको पहुँच अझ विस्तार हुने विश्वास गरिएको छ। साथै, स्थानीय स्तरमै दक्ष कानुन व्यवसायी उत्पादनमा समेत यसले सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
