२३ चैत २०८२, आइतबार · देश समाचार

संघीय संसद् आज बस्दै: डोलप्रसाद अर्याल सभामुख पदमा औपचारिक घोषणा हुने

आज संघीय संसद्को दुवै सदनको बैठक बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुने छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १२:१५ बजे बस्ने तय गरिएको छ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा हुने प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ। उहाँको उम्मेदवारी शुक्रबार मनोनयन दर्ताका क्रममा एकल परेकाले निर्विरोध चयन भएको हो।

यसैबीच, राष्ट्रिय सभाको बैठक पनि सिंहदरबारमै बस्नेछ। बैठकमा सभाध्यक्षद्वारा विषयगत समितिका सदस्यहरूको मनोनयन तथा हेरफेर गरिने कार्यसूची रहेको छ। साथै, अध्यक्ष र उपाध्यक्ष अनुपस्थित हुँदा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम समेत तोकिनेछ।

त्यसैगरी, कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन शाह ले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभएको छ।