६ माघ २०८२, सोमबार · देश समाचार

सर्टमुभी झोले प्रदर्शनमा, जेनजी मुभमेन्ट मुख्य कथाबस्तु

विराटनगर । विराटनगरका युवाहरूले भदौ २३ र २४ गते सम्पन्न ‘जेन्जी आन्दोलन’ को कथावस्तु समेटेर निर्माण गरेको सर्ट फिल्म ‘झोले’ सार्वजनिक गरिएको छ।

सामाजिक चेतना, राजनीतिक व्यङ्ग्य र युवाको दृष्टिकोणलाई एकसाथ प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको उक्त सर्ट फिल्म केही दिनअघि युट्युबमार्फत सार्वजनिक गरिएको हो।

‘झोले’ सर्ट फिल्मको लेखन तथा निर्देशन विराटनगरका युवा शंकर शर्मा (नेपदेशी) ले गरेका हुन्। फिल्ममा विराटनगरका सन्दीप साह, सोनु मिश्रा, हितेश धरेवा, रोशन यादव, धमेन्द्र बोहरा, अर्जुन पोखरेल, धिरज दास, सुमित केशरी, गोपाल मण्डल, धिरज मण्डल, अजय रोय र सुनिल रोयलगायत स्थानीय कलाकारहरूको अभिनय रहेको छ।

उक्त सर्ट फिल्म ‘द न्यू सप इन्टरटेन्मेन्ट’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। कलाकार सन्दीप साहका अनुसार केही दिनअघि विराटनगरस्थित ‘ह्याप्पी आवर एण्ड हेभन’ मा आयोजित विशेष कार्यक्रममा फिल्मको औपचारिक प्रदर्शन गरिएको थियो।

स्थानीय कलाकारहरूको अभिनय रहेको ‘झोले’ को छायांकन विराटनगरका विभिन्न स्थानमा गरिएको छ। युट्युब र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि फिल्मले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ।